.... ....UCC

28,August , 2006

राजा अचेल इन्टरनेटमा जुवा खेल्न थालेका छन

प्रस्तुत भनाईहरु हुन सयपत्री साहित्यिक ब्लगका ब्लगर चहल सयपत्रीको । मोति जयन्तीको अवसरमा भएको एक साहित्यिक वाचन कार्यक्रमा वाचन गरिएको एक गजलको भिडियोलाई यहाँ प्रस्तुत गरेको छु । गजल पूर्णरुपमा माइलादाईको सेरोफेरोमा घुमेको छ । हुन त यो गजल गजलकारले आफ्नै ब्लग सयपत्रीमा प्रकाशन गर्नुपर्ने हो तर भन्नेहरुले देवदास र चहल सयपत्रीमा केहि फरक छैन भनेको हुदा रत्नपार्कमा प्रकाशन गरेको हो , उक्त कार्यक्रमका अन्य भिडियोहरु हेर्न चाँही साहित्यिक ब्लग सयपत्रीमै जानुपर्ने हुन्छ । यदि तपाँइको कम्प्युटरमा यो भिडियो प्ले भएन भने पढेर चित्त बुझाउनु होला ।


गजल पढ्नको लागी भित्र जानुहोला (more…)

24,April , 2006

भाग , तिमी भाग

कविता

तिमी एकजना भाग्दा
अढाइकरोडको भलो हुन्छ भने
भाग
तिमी भाग

जहाँबाट भाग्छौ भाग
जसरी भाग्छौ भाग
जुनबेला भाग्छौ भाग
पूर्वबाट भाग
पश्चिमबाट भाग
उत्तरबाट भाग
दक्षिणबाट भाग
जुनबेला भाग्छौ भाग
बिहानै भाग
मध्यन्हमा भाग
साँझमा भाग
मध्यरातमा भाग
भो अब ढिला नगर
तिमी एकजना भाग्दा
अढाइकरोड जनता खुसीहुन्छन भने
भाग
तिमी भाग

भो नहेर अब साइत
तिमीले बहुत साइत हेर्यौ
साइत निकालेर बहुत काम गर्यौ
पुण्यको कुनै काम भएन तिम्रो साइतमा
जती भए पापमात्र भए
अब नखोज ज्योतीषी
नहेर साइत
चुपचाप भाग
जुन बार भागेपनि हुन्छ
शुक्रबारनै चाँहीदैन
आइतबार भागेपनि हुन्छ
सोमबार भागेपनि हुन्छ
जती गते भागेपनि हुन्छ
आठ बाह्र बार्नु पर्दैन
जहाँबाट भागेपनि हुन्छ
थानकोटबाट भाग
धुलीखेलबाट भाग
ककनीबाट भाग
भैंसेपाटीबाट भाग
मेचीबाट भाग
महाकालीबाट भाग
तातोपानीबाट भाग
काँकडभित्ताबाट भाग
भो अब अबेला नगर
तिमी एकजना भाग्दा
अढाइकरोडको आँशु पुछिन्छ भने
भाग
तिमी भाग

एसपाली कानुनको पनि कुरा नगर
तिमी भाग्नलाइ
कुनै कानुनले रोक्दैन
कुनै कानुनले छेक्दैन
कुनै संविधानको धारा तगारो बन्दैन
कसैको अनुमती पनि चाँहीदैन
कतै बैठक पनि बस्नु पर्दैन
भाग्नलाइ कुनै बिषेश कला पनि चाँहीदैन
आफ्नै तरीकाले भाग
साँढेले छाती फुलाए जस्तो
छाती फुलाएर भाग
पानीले चुटेको मुसो जस्तो
थरथरी काम्दै भाग
डराएको कुकुर जस्तो
पुच्छर टांगामुनि हालेर भाग
नुन खाएको कुखुरा जस्तो
टाउको नुंगाएर भाग
जसरी भाग्छौ भाग
पैदल भाग
घोडामा चढेर भाग
कारमा चढेर भाग
हेलिकप्टरमा चढेर भाग
प्लेनमा चढेर भाग
अब साह्रै ढिला हुनलागी सक्यो
त्यसैले अबेला नगर
तिमी एकजना भाग्दा
अढाइकरोडको चाहना पुरा हुन्छ भने
भाग
तिमी भाग
अहिलेनै भाग

देवदास - रत्नपार्क

12,April , 2006

ए महाराज धृतराष्ट्र, श्रीपेच फुकाल

देवदास

फेरी पनि सुन
कुरुक्षेत्रको युद्दमा
तिमीले कहिल्यै जितेका छैनौ
कहिल्यै तिमीले जित्नेपनि छैनौ
त्यै भएर म भन्दै छु
ए महाराज धृतराष्ट्र,
श्रीपेच फुकाल

राजा भएर दरबार भित्र बस्नु मात्र त हो
तिमीले केही देख्न सक्दैनौ
तिमी त आखीर अन्धो छौ
केहि बुझ्न सक्दैनौ
तिमी त आखीर अबुझ छौ
केहि अनुभव गर्न सक्दैनौ
तिमी त आखिर
अचेतनामा छौ
सक्छौ भने दृष्टी लगाउ
यतीबेला ,
गाँउ गाँउ जलेको छ
शहर शहर जलेको छ
गल्ली गल्ली जलेको छ
सडक सडक जलेको छ
सत्यको खातीर
पुरै देश जलेको छ ।
देख्न सक्दैनौ भने
सन्जय लाइ सोध
कुरुक्षेत्रमा के भएको छ ?
के हुँदैछ ?
र के हुनेवाला छ ?
फेरी सल्लाह लेउ सन्जय सँग
तिम्रो सन्जयले जे भन्छन त्यही मान
किनकी ,
सत्यबादी सन्जयले पनि भन्नेछन
ए महाराज धृतराष्ट्र,
श्रीपेच फुकाल ।

सयौं छोर भएकोमा गर्व नगर
दुर्योधनको विश्वास नगर
पाण्डव सँग तिम्रो कदापी जीत हुदैन
पाण्डव भनेका सत्य हुन
सत्य भनेका श्रीकृष्ण हुन
श्रीकृष्ण भनेका संसार हुन
तिमी संसारलाइ लत्याउन नखोज
घरभित्र सकुनीलाइ पालेर
सकुनीको तालमा नलाग
कौडामा सँधैभरी युधिष्टीरहरु हार्दैनन्
युधिष्टीर भनेको धर्म हुन
धर्मलाइ नलत्याउ ।
तीमीले देखेका छौ ?
भिष्म पिताम्ह कसरी ढले ?
गुरु द्रोण कसरी शिस्यसँग हारे ?
अनि
दुर्योधनको कुन नियती भयो ?
सुन,
सोच,
बुझ
आफुलाइ बचाउन चाहन्छौ भने
ए महाराज धृतराष्ट्रं,
श्रीपेच फुकाल

समयले ,
एक पटक पर्खन्छ
दुइ पटक पर्खन्छ
तर
सँधैभरी पर्खदैन
समयले ,
एक पटक साथ दिन्छ
दुइपटक साथ दिन्छ,
तर सँधैभरी साथ दिंदैन
होस गर,
आफु रहनु छ भने
गलहत्याउ
दरबार बाट सकुनिहरुलाइ
त्यागीदेउ
पापी दु्रयोधन र दुस्सासनलाई
पण्डवले भनेको मान
गान्धारीले भनेको सुन
संजय माथी बिश्वास गर
हैन भने त्यो बेला
तिमीले पछुताउन पनि पाउदैनौ
जुन बेला कुरुक्षेत्रका योद्धाहरुले
तिम्रो दरबार ढलाउने छन
जुन बेला तिम्रो शिरबाट
जर्बजस्ती श्रीपेच खोस्नेछन
त्यै भएर
म फेरी अन्तिम पटक भन्दैछु ।
ए महाराज धृतराष्ट्र,
श्रीपेच फुकाल
श्रीपेच फुकाल
श्रीपेच फुकाल

5,April , 2006

रोकिंदैन आन्दोलनको आँधी चलेपछी

गजल

रोकिंदैन आन्दोलनको आँधी चलेपछी ।
गाह्रै पर्ला निभाउन राँको बलेपछी ।

दुनीयाले देखीसक्यो असली मुहार हजुरको,
छेपारो झै हजुरले आफ्नो रंग बदलेपछी ।

सुहाँउदैन हजुरलाइ कानुनको कुरा गर्न ,
हजुरकै हात बाट सबै कानुन जलेपछी ।

सुध्रीने भएदेखी ऐल्यै सुध्रीहाल्नुस हजुर ,
उठाउँदैनन् हजुरलाइ एक पटक ढलेपछी ।

रोकिंदैन आन्दोलनको आँधी चलेपछी ।
गाह्रै पर्ला निभाउन राँको बलेपछी ।

चहल सयपत्री -दोहा कतार

26,March , 2006

यो हल्लै हल्लाको देश हो - भुपि

भुपि शेरचन

कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोका डोको,र्
खर्पनका खर्पन ,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वाश एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकै/पाप गरेको वेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलाहरुमा
दोब्बर उब्जनी हुने बीउहरुको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,
जहाँ वाग्मती र विष्णुमतीका साटोमा
अब बीयर र हृविस्की बग्दछन्,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम, र
तिनका पछाडिका बनहरुमा
आडम र इभको ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कार्खानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरुले
छोरा होइन लाहुरे मात्र जन्माउँछन्
जहाँ रिन तिर्नको लागि महाकविले
असमयमै मर्नुपर्दछ,
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिनाउपचार बैसमै कुँजिएर जीवन बिताउनुपर्दछ,
जहाँ गाइडले टुरिष्टलाई
नेपालको बिदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,
जहाँ तन्नेरीहरु
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
र्टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आˆm्नो मुटु चिरेर
कि ए मेरो देशवासीहरु हो
ए मेरो देशका राष्ट्र-कविहरु हो
ए मेरा देशका सम्माननीय नेताहरु हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश त्रि्रो जत्तिकै मेरो पनि देश हो
अंशबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरुमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here