सात राजनीतिक पार्टीले पूर्ण प्रजातन्त्रको लागि जारी राखेको आन्दोलनको पन्ध्रौं दिन ०६३ वैशाख ७ गते राजधानीको चक्रपथ बाहिरका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भएका छन् ।
कलंकी क्षेत्रमा अपराह्न १.०० बजेदेखि राजनीतिक दलको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी सयौं राउण्ड गोली तथा अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीको गोलीद्वारा कम्तीमा तीनजना प्रदर्शनकारीको मृत्यु, ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते छन् । कर्फ्यूको अवज्ञा गर्दै इन्सेकको गाडीबाट उपचारको लागि काठमाण्डौ मोडेल अस्पताल पुर्याएका घाइतेमध्ये तीन जना प्रदर्शनकारीको मृत्यु भएको हो । घाइतेहरुमा मकवानपुरका विमल ढकाल, नुवाकोटका माधव नेपाल, दोलखाका खेमराज गिरी, मोरङका दीलिप राजवंशी, त्रिविका स्ववियु सदस्य आशा राई, स्युचाटारका विवेक ढुंगना, प्रद्युम खड्कालगायतका रहेका छन् ।
घटनाका प्रदक्षदर्शीका अधिवक्ता रामकुमार विडारीका अनुसार सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक दोर्जकुमार राईको आदेशमा गोली प्रहार भएको थियो । राई आँफैले पनि पेस्तोलले कन्चटमा गोली हानी प्रदर्शनकारीको हत्या गरेको थिए ।
कलंकीबाट इन्सेक केन्द्रीय कार्यालयका रुपेश नेपालका अनुसार, सतुंगल, कीर्तिपुर, स्युचाटार आदि ठाउँहरूबाट लाखौंको जुलुस आज मध्याह्न कलंकी चोकतर्फअगाडि बढ्यो । कीर्तिपुरको डाँडाबाट वर्षातमा ठाउँ ठाउँबाट झरना झरेजस्तै गरी जुलुसै जुलुस झरेको थियो । त्यही समयको हराहारीमा भैंसेपाटी, नारायण गोपाल चौक र चावहिलतर्फाट पनि मानवसागरले चक्रपथ क्षेत्रभित्र प्रवेश गर्न खोजेको थियो ।
गोगंबु, सामाखुसीबाट इन्सेकका रमेश अधिकारीका अनुसार, गोगंबु क्षेत्रमा राजनीतिक दलका नेता तथा कार्यकर्ताले आज बिहान केही समय विरोध प्रदर्शन गरेका छन् । यसैगरी सामाखुसी क्षेत्रमा पनि कर्फ्युको अवज्ञा गर्दै ठाउँठाउँबाट छड्के जुलुस प्रदर्शन भएको बताइएको छ ।
यसैबीच चक्रपथ क्षेत्रबाट कर्फ्यूको अवज्ञा गर्दै १२.३० बजे प्रदर्शनकारीहरू अघि बढेको छ ।
म्हैपी, बालाजुबाट इन्सेकका दिनेश खनालका अनुसार सो क्षेत्रमा आज बिहान १५ २० जनाको संख्यामा निस्केका प्रदर्शनकारीहरूले टायर बाल्नुका साथै झण्डासहित नारा लगाएर विरोध प्रदर्शन गरे ।
नेपालटार, बालाजुबाट इन्सेककी प्रमीला थापाका अनुसार नेपालटारमा २ सय भन्दा बढीको संख्यामा निस्केको जुलुसले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।
र्कीर्तिपुरमा राजनीतिक दललहरूले बिहान ११.०० बजे निकालेको विरोध प्रदर्शन नगाउँ, नयाँबजार, ट्याँङलाफाँट हुँदै कलंकीतर्फआएको छ । यसैगरी, र्कीर्तिपुर क्षेत्रमा बिहानै देखि सांस्कृतिक झाँकीसहित निकालिएको जुलसले नगाउँ, नयाँबजार, पाँगालगायतका क्षेत्र परिक्रमा गरेको छ । शंखमुल, शान्तिनगर, मैतीदेवी, चावहिल, कोटेश्वर जोरपाटी, महाराजगञ्ज, बसुन्धारा, बालाजु, बनस्थली, स्वयंभु, सीतापाइला, कलंकी बल्खु, पाटन, मंगलबजार, नख्खु, भैंसेपाटी, चापागाउँलगायतका क्षेत्रमा पनि राजनीतिक दलका नेता तथा कार्यकर्ता जम्मा भई विरोध प्रदर्शन गरिरहेको बताइएको छ ।
ललितपुरको सातदोबाटो तथा ताछिखेल क्षेत्रमा पनि प्रहरीले जुलुसलाई हस्तक्षेप गरी लाठी प्रहार गर्दा कम्तीमा दुईजना प्रदर्शनकारी घाइते भएको इन्सेक केन्द्रीय कार्यालयकी गीता मालीले बनाउनु भएको छ । घाइतेलाई उपचारको लागि स्थानिय सामुदायिक अस्पताल लगिएको छ ।
ललितपुरस्थित सातदोबाटोबाट कृष्ण सुवेदीका अनुसार, सात राजनीतिक दलको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी गोली तथा अश्रुग्याँस प्रहार गर्दा कम्तीमा ४ सय जना प्रदर्शनकारी घाइते भएको बताइएको छ । अरनिको विद्यालयको हाता भित्र कम्तीमा २ सय जना प्रदर्शनकारीहरुको उपचार गरिसकिएको बताइएको छ । उक्त घटनामा दीप चाम्लिङलाई चारओटा गोली लागेको छ । उनको टाउको कान घाँटी आदी ठाउँमा गोली लागेको छ । उनलाई पाटन अस्पताल लगिएको छ ।
चुच्चेपाटीबाट इन्सेकका गोविन्द त्रिपाठीका अनुसार बौद्ध क्षेत्रबाट हजारैंको संख्यामा जुलुस प्रदर्शन भएको छ। उक्त जुलुस चुच्चेपाटी क्षेत्रतर्फ अघि बढेको छ । लोकतन्त्रको पक्षमा आज सबैभन्दा पहिले निकालिएको उक्त विशाल जुलुसले निषेधाज्ञा र कर्फ्यु तोड्दै अघि बढ्ने प्रदर्शनकारीहरुले बताएका छन् । जसको कारण सो क्षेत्रमा ठूलै झडप हुने आशंका गरिएको छ।
कौशलटारबाट इन्सेकका जगदीश दाहालका अनुसार, पेप्सीकोला क्षेत्रबाट राजनीतिक कार्यकर्ताले निकालेको जुलुस जडिबुटी हुँदै कोटेश्वरतर्फ अघि बढेको छ ।
चावहिल गौरीघाटबाट इन्सेकका शिव खकुरेलका अनुसार गौरीघाट तथा मैजुबाहालबाट हजारौंको संख्यामा राजनीतिक कार्यकर्ताहरू जुलुस प्रदर्शन गर्दै चुच्चेपाटी क्षेत्रतर्फअघि बढेका छन् । (more…)