मधेसीको नागरिकता समस्या र ढल्केबरको घाम तपाई (२)
- महेश्वर श्रेष्ठ
“भो, चाहिंदैन मलाई त्यस्तो आनन्द । त्यस्तो आनन्द गर्ने भाग्य र मौका तपाईंलाई नै जुरिरहोस् ।” अब च्याँठिने पालो उनको थियो र भनिन्, “मानिसहरु गर्मीले प्याक-प्याक पर्न थालिसके । कोही विरामी पर्न थालिसके । भर्खर एघार बज्यो । चार बज्न अझै पाँच घण्टा बाकी छ । कसरि समय काट्ने हो । को को मानिस कति जरुरी कामले कहाँ कति बेला पुग्नु पर्ने होला । कस्तो फन्दामा फसियो बा ….. । कोही केही बोल्ने होइनन् । होइन, तपाईंले त गल्ती गर्ने मान्छे राजा नै किन नहोस्, अगाडि आउने साहस गरे उसलाई पनि हकार्छु भन्ने धक्कु लाउने गर्नु हुन्थ्यो नि । जानुस्, कसैसंग कुरा गरी त हेर्नुस् । केही उपाय त निकाल्नोस् । के लाटाले केरा हेर्या जास्तो हेरिराको ?”
क्या फसाद ! उखरमाउलो गर्मीमा अनाहक बीच बाटामा अलपत्र पर्नु परेकोले मानिसहरुको दिमागी सन्तुलन खल्बलिरहेको थियो । अरुका श्रीमतिहरुले आफ्ना श्रीमानहरुलाई के भनिरहेका थिए होलान् कुन्नि । उनले त मेरो पुरुषत्व र प्रतिष्ठालाई नै चुनौति दिइन् । अब केही नगरी सुखै थिएन । त्यस बेलाको मिथिला अनि आजकाल यही धनुषाका राजा जनककी छोरी सीताको स्त्रीहठले सुनको मिर्ग खोज्न रामचन्द्र जंगल तिर लागे जस्तै म पनि चक्काजाम फुकुवा गराउने उपायको खोजीमा धल्केबरको चौरस्ता तर्फ निस्कन त निस्कें तर गर्ने के ? कसलाई के भन्ने ? कसरि सम्झाउन ? अरु यात्रुहरुले आन्दोलनकारीहरुसंग धेरै अनुनय विनय गरिसकेका थिए । तर उनीहरु टसको मस भएनन् । भन्ने गर्थे, “पुस्ता दरपुस्ता हामी अनागरिक भएर बाँचिरहेका छौं । तपाईंहरु हाम्रो यो दुखमा आठ घण्टा पनि साथ दिन सक्नु हुन्न ?”
प्रश्नले मन छुन्थ्यो तर बेजिल्लाका हामी बटुवाहरुले नागरिकता जस्तो संवेदनशील विषयमा तत्काल के नै पो गर्न सक्थ्यौं र ? अब जिल्लाको प्रमुख प्रशासकलाई नै गुहार्नु पर्यो भन्ने ठानी नजिकको पिसिओमा फोन नम्बर सोधेर दर्जनौं पटक प्रजिअलाई कार्यालय र निवासमा समेत फोन गरें तर फोन व्यस्तको व्यस्तै रहृयो । बिजुली बत्ती झयाप्प निभ्दा विद्युत प्राधिकरण नो लाइट शाखाको फोन स्वतः व्यस्त भए जस्तै प्रजिअको फोन पनि स्वतः व्यस्त भएको होला भनी ठानेर उनलाई सर्म्पर्क गर्ने प्रयासलाई त्यागिदिएं । जिल्ला जिल्लामा सत्ताधारी पार्टीहरुको अघोषित अनुगमन समिति छ भन्ने बुझेको यस पंक्तिकारले पिसिओलाई थाहा भएसम्मको सबै जिल्ला नेताहरुलाई फोनबाट सर्म्पर्क गर्ने हर सम्भव प्रयास गर्यो । उनीहरुको घर र कार्यालयका फोनहरु प्रजिअको जस्तौ व्यस्त पाइयो । जिल्ला प्रहरी कार्यालयमा सर्म्पर्क गर्न खोज्दा त्यहाँको फोन पनि त्यस्तै व्यस्त थियो । मानौ त्यस दिन धनुषा जिल्ला भरी टेलिफोन सेवाको सिष्टम नै फेल भएको थियो ।
दिक्क लागेर पंक्तिकारको मुखबाट पनि अन्टसन्ट शव्द निस्कन थालेको थियो । झोंक उठेर अब केन्द्रमै फोन गर्ने मनसायले गृहमन्त्रीको सचिवलाई फोन गरें । उताबाट यो त दान बहादुर शाहीको घरको फोन भनेर जवाफ आउँछ । थुइक्क, आठ रुपिया बेकार मा गयो । फेरि अर्को नम्बरमा फोन गर्दा रंग नम्बर भन्ने जवाफ आउँछ । अर्को आठ रुपिया बेकारमा गयो । भएन अब मन्त्रपिरिषदको सचिवालयमै फोन गर्नु पर्यो भनी नम्बर लगाएं । उताबाट तपाईं को बोलेको ? कसलाई के भन्नु छ ? भनी सोध्दा आफ्नो नाम, काम र मुख्य सचिवलाई भेट्न खोजेको बताउँदा बल्ल यो त रंग नम्बर भन्ने जवाफ आउँछ । नम्बर सही थियो तर समस्याबाट पन्छिन मात्र रंग नम्बर भनिएको थियो । उसंग कुरा गर्दैमा दुई मिनेट समय गएछ । अर्को सोर्ह रुपियामा चुना लागी हाल्यो । “यहाँ कोही पनि केही जिम्मेवारी लिन तयार छैनन् । सब पुच्छर लुकाएर बसेका छन्, सालाहरु !” रीसले चूर पंक्तिकारको मुखबाट अनायास अपशब्दयुक्त वाक्य फुत्की हाल्यो । जिम्मेवार भनाउँदाहरुलाई फोन गर्ने प्रयासमा अर्को एक घण्टा बितेछ ।
पंक्तिकारले यसरि अनेक मानिसहरुलाई फोन गर्ने प्रयास गरिरहंदा एक झुण्ड मानिस उसका पछाडि जम्मा भएर अब के होला भन्ने कौतुहल सहित नियालिरहेका थिए । सायद उनीहरुले उसलाई पनि ‘ठूलै’ मान्छे ठानेर हो कि ‘माथिसम्म’ पहुँच भएको मान्छे ठानेर हो खुइय सुस्केरा हाल्दै अर्कै तिर बरालिन खोज्दा उनीहरु मध्ये तीन-चार जनाले “ए भाई, अब यतिकै कति बस्ने ? बालबच्चा र बुढाबुढीहरु बिरामी पर्न थालिसके । अब त आन्दोलनकारीहरुसंगै कुरा गर्नु पर्यो । नागरिकता नपाउनु उनीहरुको समस्या हो । हामीले त्यस्को सजाय किन भोग्ने -” भनी कराउन थाले । अरु बाकी बार्ह-पन्ध्र जनाले पनि “हो हो, हामीले किन सजाय भोग्ने । जाऔं, आन्दोलनकारीहरुसंग कुरा गर्न जाऔं ।” भनी हल्ला गर्न थाले । हल्लाले अरु मानिसहरुलाई पनि आकषिर्त गर्यो । एकै छिनमा पच्चीस-तीस जनाको ‘वार्ता टोली’ तयार भयो र बस तथा बाटामा सुस्ताइरहेका यात्रुहरुलाई पनि ‘जाऔं है जाऔं । वार्ता गर्न जाऔं ।’ भन्दै आन्दोलनकारीहरु एकत्रित भएको ठाउँ तर्फअगाडि बढ्यो ।
आन्दोलनकारीहरु एकत्रित भएको ठाउँसम्म पुग्दा ‘वार्ता टोली’ मा पचास-साठी जनाको हुल भइसकेको थियो । अलपत्र यात्रुहरु हुल बाँधेर आएको देखेर आन्दोलनकारीहरु सशंकित भएका देखिन्थे । बेन्चीमाथि उभिएर माइकमा बोलिरहेका ‘नेताहरु’ को पछाडि हातमा इंटका टुक्रा बोकेका र दायाँ बायाँ लाठी बोकेका सयौं मानिसहरु देखिन थाले । यसै बीच ‘वार्ता टोली’ मध्ये कसैले “पहाडे-मधिसे भाई-भाई । मधिसेलाई नागरिकता दे” भन्ने नारा लगायो । ‘वाता टोली’ का सबैले त्यस नारालाई जोडसित तीन-चार पटक दोहर्याइसके पछि एक जना मोटोघाटो यात्रुले “तपाईंहरुको आन्दोलनको र्समर्थनमा हामी चार घण्टा बढी घाममा बसिसक्यौं । अब अरु बस्न सक्तैनौ, गाहारो भयो । हामीलाई छोडिदिनोस्” मात्र के भनेका थिए आन्दोलनकारीहरु मध्ये कतिपयले एकै स्वरमा “यिनीहरु त पहाडे-मधिसे भाई-भाईको नारा दिएर हामीलाई चिप्लो घस्न पो आएका रहेछन् । हट्दैन, हट्दैन । चक्काजाम हट्दैन” भनी क्रोधयुक्त स्वरमा होहल्ला गर्न थाले । होहल्लाले राजमार्ग छेउछाउ छरिएर बसेका आइमाई बुढाखाडा आन्दोलनकारीहरुलाई पनि एकत्रित पार्यो । यात्रुहरुको भीड पनि बढ्न थाल्यो । कसले के बोले भन्ने केही ठेगान भएन । यसले यात्रुहरुको ‘वार्ता टोली’ को धैर्यको बाँध पनि छताछुल्ल भयो । कोही यात्रुहरु “तपाईंहरुले आजै नागरिकता पाउने ग्यारेन्टी भए चार बजे त के त्यसको खुसियालीमा आज रात भर तपाईंहरुसंगै बसेर भोज खाऔंला र भोली मात्र जाऔंला । लौ ल्याउनुस् ग्यारेन्टी” भनी कराउन थाले । आन्दोलनकारीहरु मध्ये कोही “हाम्रो दुखमा साथ नदिने तपाईंहरु के को दाजु भाई ?” भनी कराइरहेका थिए । कोही “धनीहरुको कुकुर मर्दा मान्छेहरु चक्काजाम गर्छन् । हामी गरीबहरु माथि यत्रो ठूलो अन्याय भइरहेको छ । हामीले चक्काजाम किन नगर्ने । नगरे त हाम्रो कुरा कसैले सुन्दै सुन्दैन । तपाईंहरु चार बजेसम्म बस्नुस् । त्यस भन्दा अगाडि चक्काजाम हट्दैन” भनी उर्दी जारी गरिरहेका थिए ।
जति भीड बढ्दै थियो स्थिति पनि तनावपूर्ण बन्दै थियो । मझौला कदको यो पंक्तिकार त्यो भीडमा कता कता हराएको जस्तो अनुभव गरिरहेको थियो । उसको कुरा कसैले सुनिरहेको थिएन । वास्तवमा कसैले कसैको कुरा सुनिरहेका थिएनन्, सब आआफ्नो कुरा मात्र ठूलठूलो स्वरमा सुनाइरहेका थिए । यस्तो स्थिति धेरै बेर रहन दिनु हुन्न भन्ने सोचेर पंक्तिकारले केही गर्नै पर्ने कर्तव्य बोध गर्यो । तर के गर्ने ? कसरि गर्ने ? भन्ने समस्या उसको अगाडि ठिंग उभिन आउँथ्यो । उसले गत बैशाख ११ गतेलाई सम्झयो । उ र उसका साथीहरु मिलेर पाटनबाट निस्केको सवालाख भन्दा बढी जनआन्दोलनकारीहरुको जुलुसलाई शहरका प्रमुख क्षेत्रहरुको भव्य परिक्रमा गराएको सम्झयो । एउटा मट्यांग्रा पनि हान्न नपर्ने गरी जुलुसलाई कडा सुरक्षा व्यवस्था भएको मुल सडकमा उतारेको सम्झयो । बख्तरबन्द गाडी र स्वचालित हातहतियारबाट सुसज्जित ठाउँठाउँमा तैनात सुरक्षाकर्मीहरुलाई “जनताको खूनबाट बनेको करबाट पालिएका तपाईंहरुले कसको नूनको सोझो गरिरहनु भएको छ, सम्झनुस्” भनी नैतिक प्रश्न तेर्स्याएको सम्झयो । “हामी अगाडि बढ्छौं, बढ्छौं । हान्ने भए लौ हान्नुस् गोली” भनेर छाती तन्काएको सम्झयो । “अन्याय अत्याचार विरुद्ध उठ्नु जनताको अधिकार हो । हामीलाई रोक्न पाउनु हुन्न । लौ गुडाउनुस् बख्तरबन्द गाडी हाम्रो शरिर माथिबाट” भनी सयौं आन्दोलनकारीहरु सहित बाटामा लम्पसार परी सुतेको सम्झयो । यसरि सुरक्षाकर्मीहरुको हरेक अवरोधलाई वार्ताद्वारा भत्काउँदै बिना कुनै नोक्सानी जुलुसलाई कोपुण्डोलको मुल सडकबाटै जिल्ला पार गराउन सफल भएको सम्झयो ।
यसरि कुरा गरेर सैनिकहरुलाई त सम्झाउन सकिन्छ र जनसमुहलाई सम्भावित हिंसाबाट बचाउन सकिन्छ भने लामो समयदेखि राज्यबाट हेपिएका, थिचिएका र आफ्नै नेताहरुबाट संधै धोका पाउँदै आएका यी निरीह एवं निहत्था आन्दोलनकारीहरुलाई सम्झाउन कसरि नसकिएला भनी सोच्दै पंक्तिकार हुललाई छिचोल्दै बल्ल बल्ल तिनका नेताहरु भएको ठाउँसम्म पुग्न सफल भयो । तर त्यो कोलाहलमा उसको कुरा सुन्ने कसले ? उसको पालो “एक मिनेट, एक मिनेट” भन्दै बेन्चीमाथि उभिरहेको एकजना नेतालाई हात समाएर तान्यो र घोक्रो फुलाउँदै भन्न थाल्यो, “हेर्नुस् नेताजी, यसरि तपाईंहरुको समस्या समाधान कदापि हुँदैन । तपाईंहरुको भनाईप्रति कसैको विमति हुन सक्तैन । तपाईंहरुको समस्या प्रति हामी सबैको हार्दिक सहानुभूति छ । तब न चार घण्टा भन्दा बढी समयदेखि तपाईहरुको चक्काजामलाई र्समर्थन गरेर बसिरहेका हौं । अब पुग्यो, छोडिदिनोस् । यी बेकसूर मुसाफिरहरुलाई अझै यसरि बीच बाटोमा रोकेर दिनभर घाममा सेकाउने हो भने तपाईंहरुले उनीहरुको सहानुभूति र र्समर्थन होइन त्यसको सट्टा रीस र घृणा पाउनु हुनेछ । तपाईंहरुले यस बारे सोच्नु भएको छ कि छैन ?”
(क्रमस:)
२००६ सेप्टेम्बर ११


गएका महिनाहरु:
