नेपाल देखि बेलायत सम्म
समय भनेको बित्नकै लागि रहेछ । सकिनकै लागि रहेछ । मैले नेपाल छाडेर बेलायतको लागि प्रस्थान गरेको पनि १ बर्षभएछ । हिजो अस्ति जस्तो लाग्छ नेपाल छाडेको । अब गन्थन शुरु गरौ नेपाल छाड्नु भन्दा अलिकति पहिलेबाट । २०६२ असार १४ गते कौशलटारको अस्थाइ निवासबाट भारी मन नै भएपनि वाहिर खुशीको अनुभव भएको अभिनय गर्दै आफ्ना परिवार मान्यजन तथा विशेष सहयोगी सत्य प्रसाद खनाल दाई तथा अनिश न्यौपाने भाइ सहित नेपाल इन्जिनियरिङ्ग कलेजको मोटर चढेर एयरपोर्ट प्रस्थान गरियो । घरका मान्छे र भाइ अनिश बाहेक सबैका लागि नेपालबाट हिडेको बिदा भएको क्षण त्यही बन्न पुग्यो । तर दुखको कुरा त्यसरी माला लगाएर सुट बुट लगाएर हिडेको दिनको यात्रा केवल एयरपोर्ट सम्ममा मात्र सिमित भयो । सम्झदा आफैलाइ सधै रोमाञ्चित पार्छ त्यो दिनको एयरपार्ट सम्मको यात्राले । सामान्य भन्दा सामान्य कुरा मा पनि अनावश्यक झमेला बनाइदिने अध्यागमन अधिकारीको कृपाले १ दिन थप नेपाल बस्ने मौका मिल्यो । त्यो आफ्नो ठाउंमा ठिकै थियो र पनि त्यसपछिका सबै झमेला ले गर्दा पनि अहिले सम्म मन बुझाउन सजिलो भएको छ । यस्तै थियो मेरो देश मेरो नेपाल । यस्तै छ मेरो देश मेरो नेपाल । २०६२ असार १४ जब एयरपोर्टबाट घर र्फकनु नै पर्ने भयो त्यस पछि चांहि त्यस दिन फर्किएको कुरा घरका मान्छे र आवश्यक पर्नेवाहेक कसै लाइ पनि भन्न नै मन लागेन । कुनै पूरुषार्थ गरेको भएपो सुनाउनु । त्यसरी सुनाएकै भएपनि मख्ख परेर गाको थ्यो ङ्गच्िच परेर र्फकेछ भनेर साच्चै भन्थे । किनभने अरुलाइ त्यस्तो परेको भए म नै भन्थे पहिले पहिले भए चैं । तर अब चै भन्दिन । यी कुरामा ममा अलिअलि भएपनि परिपक्वता आको छ क्या । जब एयरपोर्टबाट फर्किएर घर गएर झोला कुम्लो थन्क्याएर एउटा पत्रको लागी श्रम बिभाग हो की के जाति बिभागमा पुगियो । त्यो अफिस मा त कर्मचारी भन्दा दलाल नै बढि पो रछन त्रिपुरेश्वर मा भाको त्यो श्रमको अफिस मा त । कति घण्टा सम्म आफैले के के काम गर्दा फारमहरु भर्दा पनि नहुने रहेछ । दलाललाई नै गराउनु पर्ने । त्यो दिन मा कामनै नसकिने देखेपछि दलाललाई नै जिम्मा दिएपछि अलि छिटो काम सकियो । त्यो बेलामा खै कुन चै विमा कम्पनिमा बिमा पनि नगरी जान पाइदैन रे भनेर ५- ७ सय को विमा पनि गरेको थियो । सायद दर्ुघटना बिमा को नाम मा होला । यति गरेपछि श्रमबाट गर्नर्ुपर्ने काम सकियो । बेलुकाको लागि एउटा टिकट मिलेको छ अर्काे चाहि एयरपोर्ट मा नै मिलाउन भनेको छु भन्नु भयो उद्धब दाइ ले । ल अब त सबैकाम सकियो भनेर घर गएर झोला झाम्टा बोकेर दोश्रो पल्ट फेरी एयरपोर्ट पुगियो । दुःखको कुरा फेरी अर्काे टिकट मिलेन । फेरी भोली पल्ट को लागि भनेर घर र्फकनु पर्यो । विहान देखिको तनाव र मानसिक पिडा त छदै थियो भोली फेरी एयरपोर्ट बाट नै र्फकनु नपरोस भनेर कुनै समस्या नपरोस भनेर पावर लगाउन खोजी गर्दा गतिलो नै पावर फेला प्रयो यति सम्म कि अध्यागमन मा लाइन बसि राख्या ठाउमा नै अध्यागमन अधिकारीबाट निम्तो आयो झोला लिएर अगाडी आउनुस भनेर । लाइन पनि बस्नु परेन । धन्य छ मेरो देश धन्य छ मेरो नेपाल । कस्तो छ पावरको खेल । अघिल्लै दिन त्यो पावर प्रयोग गरेको भए वा अलिकति दानवीर बन्न सकेको भए त्यति दुःख भोग्नु नै नपर्ने ।
त्यस पछि भने साच्चिकै बेलायतको लागि विमान मा चढिसके पछि भने नेपालको नियम कानून झमेला सबै सकिएको अनुभव त भयो तर लामै समयको लागि भनेर थालिएको यात्रा भएर होला मन भने त्यति खुशी हुन सकिरहेको थिएन । लामो समयको लागि भनेर यसरी यात्रामा निस्किएको पनि पहिलो पटक नै थियो । त्यस भन्दा पहिले बिदेश यात्रा भनेको कि त चाइना खासा बजार, कि त रक्सोल वा जोगबनी सम्म कै हो । मन मा यस्तै यस्तै कुराहरु न्ांाचिरहेको बेलामा हवाइजहाजले जब जमिन छाड्यो तव मन मा एक किसिमको नरमाइलो अनुभूति भइरह्यो । अनायास नै धेरै ठुलै चोट पर्दा वा आंखामा केहि हुदा बाहेक अरु बेलामा र्झदै नर्झने आंशु आंखाभरी टिलपिल हुन पुगेछ । नचाहंदा नचाहंदै केहि थोपा झरे पनि होलान । सायद त्यहिनै होला देश प्रेम अनि आफन्त प्रेम पनि । दिनभरिको प्लेनको यात्रा । सुरुमा त पहिलो पटक बोइङ्ग चढेको रमाइलो नै लागि रहेको थियो । पहिले पहिले हवाइजहाज चढेको भनेको कि त पोखरा जान कि त सिमरा सम्म । लामो यात्रा भनेको नै विराटनगर सम्मको थियो । १ घण्टा पनि बस्न नपाइ ओर्लनु पर्ने । रहर नै पुगेको थिएन भन्या । कहिलेकाईं त लाग्थ्यो त्यो प्लेन आफु जानु पर्ने ठाउमा भन्दा पहिले अर्कै ठाउतिर पुगेर र्फकेर आए पनि हुन्थ्योे । तर दिन भर त दिक्कै लाग्दो रछ । फेरी सुन्या कुरा त जहाज मा जे जे भन्यो तेइ तेइ जति भन्यो त्यति नै खान पाइन्छ रे । के खाएर त्यस्तो हुनु । अलि अलि पाइदो रछ । फेरी के के हाल्या हुन्छ रे खान हुने पनि नहुने पनि भन्या सुन्या । खान पनि डर नै लाग्यो । भेजिटेरीयन खानेकुरा र श्रीमतिको भाग समेत गरेर तीन गिलास जति वाइन खाइयो होला । एक बोतल ले बल्ल छुन खोज्ने आफुलाई । त्यो फुच्चे तीन गिलासको के कुरा गर्नु र ।त्यति लामो यात्रा मा पनि त्यति धेरै निन्द्रा पनि लागेन । बाहिर देखिए पनि नदेखिए पनि हर्ेन छाड्न मन लागेन । मनले जे जे सोच्छ त्यस्तै खोजेको खोजेइ । कहिले आफु चडेको प्लेनबाट अरु उडेको प्लेन देखिन्छ कि देखिदैन भनेर खोज्यो । कहिले जमिन तिर कुनै बस्ती जस्तो देखियो भने त्यहां मोटर गाडि देखिन्छ कि देखिदैन भनेर हेरिरह्यो । वादलले सबै ढाकेको बेलामा आफ्नै मन पनि त्यस्तै बनायो । अनि सोच्यो सांच्चै नेपालमा मेरो के थिएन र - श्रीमति संग गनगन गर्यो । आफ्नै बहाहुरी सुनायो । नेपाल मा हुदा म यस्तो काम गर्न सक्थे , मलाइ सबैले मान्थे सबैले चिन्थे ….. म जे जे भन्यो तेइ गराउन सक्थे भन्दै सुनायो । अव त म त्यहा पुगेपछि शुन्य मा झर्छर्ुुुन्य नै हुन्छु हुनेछु भनेर किचकिच गर्दै एकोहोरो यात्रा……. अब त म नेपाल आउदा पनि कसैले पनि पहिले जस्तो गर्दैनन भनेर गनगन गर्दा अलि अलि भएपनि श्रीमतिले त्यस्तो हुदैन , झन पछि नेपाल आउदा पनि अहिले भन्दा पनि राम्रोहुन्छ भनि रहदा एक मनले त्यो त हो भने पनि अर्का मनले चै खै के हो के हो भन्न वा आफै सम्झाउन कम सजिलो चैं थिएन । यस्तै यस्तै मा आइपुगियो बेलायत । जब प्लेनकि खलासी दिदीले भन्न थालिन् ओर्लने बेला भयो भनेर । बाहिर त पुरै अन्धकार वादल पानी । यस्तै रहेछ । सुनेको बेलायत ….. बेलायत देख्दा लाग्यो साच्चै नै यहा त घाम लागेको बेलामा अफिस नै बिदा नै लिएर घाम हर्ेन बस्छन् भनेको अहिले आफुले नै भोगिरहेको छु ।
अव एक बर्षो बेलायत बस्दाको अनुभव
सुरुमा बेलायत आएपछि साच्चिकै बिकाश यस्तो हुदो रहेछ भन्ने कुरा को साक्षतकार भयो । धेरै ठुला ठुला महल । त्यस्तै सडक । मोटर गाडि त कत्ति कत्ति । २ तला भएको बस । फोहोर भनेको कतै देख्न नै नपाइने । सधै धुलो फोहर मा रुमल्लीरहेको मान्छे । ती सब छाडेर सफा स्वच्छ हावामा सास फर्ेदाको अनुभब नै बेग्लै लाग्यो । साच्चिकै सफा र स्वच्छ वातावरण भएको भएर होला विकसित देश का मान्छेहरु धेरै वर्षवाचेका होलान् ।
अव कामको कुरा ः बेलायत मा नै हो वा यो रेडिङ्ग भन्ने ठाउमा मात्र हो त्यो त थाहा भएन । काम पाउन साच्चिकै गारो भयो मलाइ चै । हुन त आफ्नो योग्यता क्षमताको कारणले पनि हुन सक्छ । आफूले जानेको भनेको थोत्रो कम्प्यूटर लाई चल्ने सम्म बनाउने हो । त्यस्तो काम भनेको त्यति सजिलै नपाइने नै होला । वा मैले मात्र नपाएको हो मलाइ नै थाहा छैन । अनि त काम कै कुरा गर्दा न त योग्यता को आवश्यकता न त अनुभव को नै । सुरु भयो सरसफाइ, बडारकुढार को काम । कस्तो संयोग । नेपालमा हुदा नेपाल इन्जिनियरिङ्ग कलेजको कम्प्यूटर सेन्टरमा काम गरेर आएको यहा पनि पाइयो कम्प्युटर सेन्टर मा नै २ घण्टाको काम । तर कम्युटरको काम त हैन नी । त्यो अफिसको सर सफाइ गर्ने । ठुलै अपिस छ । सरसफाई गरुञ्जेल पहिले पहिले म पनि नेपाल मा यस्तै अफिसमा कर्ुर्सर्ीीा नै बसेर काम गर्थे भन्ने कुरा सम्भिm रहन्छु । यस्तैकामकोकुरा नै गर्नु पर्दा यहा कुनै पनि ठाउमा जागिरकोलागि निवेदन हाल्दा हाम्रो नेपाल मा जस्तो पैसा नै तिरेर निवेदन हाल्नु नपर्ने । निशुल्क निवेदन हाल्न कहिले पनि छाडने कुरै छैन । यस्तै क्रममा बिहान साढे दर्ुइ घण्टाको काम पाए रेडिङ्ग विश्वविद्यालय मा । नेपालमा कलेजमा काम गरेको अहिले त झन विश्वविद्यालय मा । त्यहापनि काम को प्रकृति उस्तै नै हो । धेरै ठाउहरु घुमियो यो १ बर्षा । यो घुमाइको कुरा लेख्न थाल्यो भने कथाकार,साहित्यकार, काकीमाता इल्या भट्टर्राईले लेखि सक्नु भएको जस्तै होला । छोटकरी मा भन्नु पर्दा चाहि सबै शहर बजार एकै नास का नै हुन । कुनै अलि ठुला कुनै अलि साना ….
कुनै ठाउहरु समुद्र को छेउ छाउमा छन् । ति ठाउहरु घुम्दा बढि नै आनन्द आउदो रहेछ । समग्रमा भन्नुपर्दा सबै नै ठाउहरु घुम्न लायक नै छन् । सबारी साधन यति धेरै नै भए पनि हरन बजेको जम्मा गरेर यो एक बर्षा जम्मा १० पल्ट पनि सुनेको छैन होला । यहा हरन बजाउने भनेको मोटर बाट कोहि चिनेको मान्छे वाटोमा हिडिरहेको देखिएमा बोलाउन को लागि मात्र रहेछ । त्यो बाहेक त्यस्को केहि काम नै छैन । खानेकुराहरुको लागि यो बेला यसको सिजन भनेर कहिल्यै सोच्न भन्न नै नपर्ने सबै बेलामा सबै थरिका नै पाइने । बाटोको छेउछाउमा पार्कतिर भएका स्याउ आलुबखडा टिपेर खानहुन्छ भन्ने पनि थाहा नभएका यहाका मानिसहरु । सबै फलेर पाकेर कुहिएर सकिन्छ । कसैले वास्ता नै गर्दैनन् । यस्ता सबै कुराहरु देख्दा यी सब नेपालमा भाको भए कहा यसरि रहन्थ्यो भनेर सधै सोचिन्छ । यहा मौसम परिवर्तन भएको यस्तो प्रष्ट संग थाहा हुन्छ कि के कुरा गर्नु र । हामी नेपालवाट आउदा पुरै हरीयाली हुने मौसम थियो । जताततै हरीयो नै हरीयो । त्यस पछि यस्तो परिवर्तन भयो की कतै कुनै बोट बिरुवा कहि पनि हरीयो भन्ने केहि पनि वाकी नै रहेन । अहिले फेरी त्यस्तै हरियालीको मौसम छ यतिखेर । र अन्त्यमा भन्नुपर्दा समय संगसंगै यी तीस बसन्त पार गरुञ्जेल सम्म मा धेरै पटक धेरैवटा बसाइ सराइ गरियो । सिन्धुलीको एउटा दर्ुगम गांउ जहा धारामा पानी आउछ रे अनि धारा चै मान्छेको घर भित्र नै हुन्छरे । बिजुली बत्ति पनि बाल्छनरे शहरमा त । मोटर बस भनेको सानोतिनो घर जत्रै हुन्छ रे । सहर मा त घरको छानानै हुदैन रे र घर भित्र नै शौचालय हुन्छ रे भनेका कुरा सुन्दै बिताएका ति समय देखि अहिले र्सबसम्पन्न देशमा आएर लगभग एक बर्षबिताउन पाउनु पनि सानो कुरा त पक्कै हैन नै र पनि संसारमा सब भन्दा बेगवान गतिमा चल्ने यो मनलाइ स्थिर बनाउन भने त्यति सजिलो रहेनछ । यो एक बर्षा धेरै नजिकका आफन्त इष्टमित्र टाढा भए होलान । टाढा का नजिक भए हेालान । कति आफन्त इष्टमित्र । साथीभाइ इन्टरनेट बाटनै नजिक बन्न पुग्नुभयो होला कति भुमण्डलीय हिसाव संगै टाढा नै हुनुभयो होला । जे जहा जस्तो अवस्थामा भएपनि सबैलाई मेरो प्रणाम नमस्कार सम्झना । सबैमा स्वस्थ तन्दुरुस्त शरीर आनन्दमय जीवनको कामना गर्दछु ।
हवस त अहिले लाइ बिदा ।
शेखर भट्टर्राई
वेलायत ।
शेखर भट्टर्राई देवदासका पुरना मित्र तथा नमस्ते ब्लगका ब्लगर हुनुहुन्छ


गएका महिनाहरु:

SABAI KO KAHANI EUTAI MERO KATHA LEKHIDIYAKO MA THANKS
Comment by RUPESH — 13,October , 2008 @ 9:47 am