प्रचण्ड–देउवा भेटमा हत्या प्रयासको चर्चा
मंगलबार, २७ जुन ,
“मेरो निवासमा तपाईहरूलाई स्वागत छ,” १३ असारको विहान आफ्नो दैलोमा आईपुगेका माओवादी अध्यक्ष प्रचण्डसँग हात मिलाउँदै नेका प्रजातान्त्रिकका सभापति तथा पूर्व प्रधानमन्त्री देउवाले आत्मियता देखाए। सुदूरपश्चिमको कार्यक्रम सकेर शनिवार राजधानी फर्किएका प्रचण्डले आईतवारदेखि थालेको राजनीतिक भेटघाटको सिलसिलामा देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनकै निवास पुगेका थिए। अध्यक्ष प्रचण्ड र नेता डा.बाबुराम भट्टराई बसेको नीजि नम्बर प्लेटको गाडीको अगाडी महिन्द्रा गाडी र पछाडी एउटा मोटरसाईकल थियो। उनीहरुको सुरक्षाको नेतृत्व गरेका थिए, विशेष केन्द्रीय कमाण्डका इन्चार्ज तथा डेपुटी कमाण्डर वर्षमान पुन (अनन्त) ले। माओवादी नेताद्वयका साथ प्रवक्ता कृष्णबहादुर महरा र देउवाका साथ उहाँको दलका महामन्त्री विमलेन्द्र निधि थिए। निधिका अनुसार, चिया–कफि सकेर कुरा थाल्नु अघि ‘पहिले एउटा कुरा क्लियर गरौ’ भन्दै प्रचण्डले देउवासँग सफाई दिए, “हत्या गर्ने नियतले तपाईमाथि गरिएको हमलामा हाम्रो हात थिएन।”
करिव ३ वर्ष अघि कैलाली जिल्लास्थित महेन्द्र राजमार्गमा देउवालाई लक्षित गरी भएको सांघातिक हमलामा सुरक्षाकर्मीको एउटा गाडी क्षतिग्रस्त भएको थियो। केही सुरक्षाकर्मी घाईते भएका थिए। अन्य सुरक्षाकर्मीले देउवालाई सकुशल नेपालगञ्ज पुर्याएका थिए। प्रचण्डको त्यस्तो कुरा सुनेपछि देउवाले हाँस्दै छड्के हाने, “होइन्, राजनीतिमा यस्तो हुन्छ। मैले त्यसलाई गम्भिरतापूर्वक सम्झेर बसेको छैन्।” त्यसपछि बोले, डा.बाबुराम भट्टराई। “राजनीतिज्ञहरुमाथि हमला गर्ने पार्टीको नीति नै होइन्।” उनले भने, “तपाई त प्रधानमन्त्री भैसकेको मान्छे।” उसबेला माओवादीका पश्चिम केन्द्रीय कमाण्ड इन्चार्ज दिवाकरले वक्तव्य जारी गर्दै देउवा रहेको थाहाँ नपाई सुरक्षा टोलीलाई निशाना बनाइएको जनाएका थिए। महामन्त्री निधिका अनुसार, वातावरण गम्भिर बन्न थालेपछि देउवाले आफ्नो परिचित शैलीमा प्रसँग मोडे, “त्यो बेला मर्या भए, मर्या मर्यै हुन्थ्यो। छोडौ यो कुरा।” त्यसपछि प्रचण्डले २ असारमा वालुवाटारमा भएको ८ बुँदे सहमतिको बारेमा आएका प्रतिकृयाहरुबारे बुझ्न चाहे। “प्रकृयागत कुरामामात्र मतान्तर देखिएको जानकारी दिँदै विषयबस्तुप्रति देउवाले प्रचण्डलाई आश्वस्त पार्नुभयो।” महामन्त्रि निधिले भने, “देउवाले मुख्य रुपमा कब्जा गरेको सम्पति फिर्ता गर्नुपर्ने र अन्तरिम सरकारमा जानुअघि हतियार व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो।” अन्तर्राष्ट्रिय जगतलाई विश्वस्त पार्न र संविधानसभाको निम्ति विश्वसनिय वातावरण बनाउन ती काम गर्नुपर्ने तर्क देउवाको थियो। उनले प्रचण्डलाई कब्जा गरिएका घर–जग्गा–सम्पति बिनाकुनै भेदभाव बक्तव्यमार्फत निसर्त फिर्ता भएको घोषणा गरी कार्यान्वयन गर्न आग्रह गरेका ए। “प्रचण्डजीको धारणा सकारात्मक व्यक्त गर्नुभयो,” निधिले बताए। बिहान पौने ८ बजे देउवा निवास छिरेको माओवादी टोली ९ बजेतिर निस्केको थियो। हिमाल खबर


गएका महिनाहरु:
