.... ....UCC

15,June , 2006

दोस्रो वार्ता सम्पन्न

Filed under: समाचार

कृष्ण ढुंगाना/काठमाडौं
युद्धविराम राष्ट्रिय अनुगमन समिति गठन गर्ने लगायतका तीन महत्वपूर्ण निर्णय गर्दै सरकार-माओवादी दोस्रो वार्ता बिहीबार सम्पन्न भएको छ। ललितपुरको होटल हिमालयमा भएको वार्तामा मानवअधिकारको अनुगमन गर्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयलाई अनुरोध गर्न दुवै पक्ष सहमत भएका छन्।पहिलो वार्ताको २० दिनपछि भएको बिहीबारको वार्ताले डा. देवेन्द्रराज पाण्डेको स‍ंयोजकत्वमा ३१ सदस्यीय युद्धविराम राष्ट्रिय अनुगमन समितिको गठन गरेको छ। समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरु सो समितिमा परे पनि शाही सरकारले मनोनित गरेका पदाधिकारी रहेको राष्ट्रिय मानवअधिकार आयोगलाई भने कुनै जिम्मेवारी दिइएको छैन। यसैगरी सरकार-माओवादीबीच हुने वार्ताको पर्यवेक्षण गर्न पाँच सदस्यीय टोली गठन गरिएको छ। वार्ता पर्यवेक्षकहरुमा पूर्व न्यायाधीश लक्ष्मणप्रसाद अर्याल, नागरिक समाजका देवेन्द्रराज पाण्डे, मथुराप्रसाद श्रेष्ठ एवं यसअघिको वार्तामा सहजकर्ता रहिसक्नुभएका पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना रहनुभएको छ।दुई घण्टा लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति र अग्रगमन जनताको चाहना भएकाले वार्ताले अत्यन्त सकारात्मक परिस्थितिको सिर्जना गरेको बताउनुभयो। ‘हामी परस्परमा विश्वासका साथ अघि बढेका छौ, यसमा शंका गर्न आवश्क छैन।’ सिटौलाले भन्नुभयो। अत्यन्त प्रसन्न मुद्रामा पेश हुनुभएका सिटौलाले चाँडै नै शिखर वार्ता हुने जानकारी सञ्चारकर्मीहरुलाई दिनुभयो। तर उहाँले मिति भने तोक्नु भएन। पत्रकार सम्मेलनमा करिब ७ मिनेट बोलेर ‘मलाई हतार छ म र देव गुरुङ जान्छौं’ भन्दै उहाँ निस्कनु भएको थियो। ‘तपाइँहरु कहाँ जान लागेको’ भन्ने पत्रकारको प्रशनमा सिटौलाको जवाफ थियो- ‘हामी काममा जान लागेको।’पत्रकार सम्मेलनमा माओवादी वार्ता टोली संयोजक कृष्णबहादुर महराले शीर्षस्थ नेताहरुबीच हुने शिखर वार्ताको वातावरण बन्दै गएको बताउनुभयो। ‘अहिले देखिएको आशंका शिखर वार्ताले निवारण गर्नेछ’ महराले भन्नुभयो।
प्रधानमन्त्री कोइरालाले बुधबार विराटनगरमा सेरेमोनियल किंग राख्नुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति महराले भन्नुयो- ‘सबै कुराको निर्णय संविधानसभाबाट गरिनुपर्छ। जनता कुनै पनि किसिमको राजतन्त्रको पक्षमा छैनन्।’ आफूहरु अहिले देखिएका सबै कुरा लिएर जनतामा जाने महराले बताउनुभयो। पहिलो वार्तापछिका २० दिनको बीचमा भएको गृहकार्य निकै उपलब्धिपूर्ण भएको उहाँको कथन थियो।वार्ता शान्तिमा केन्द्रित भइरहेको भन्दै दुवै तर्फका वार्ता टोली संयोजकले सञ्चारकर्मीहरुलाई संविधानसभाको वातावरण बनाउन सहयोग गर्न आह्वान गरे।
२:१५ देखि सुरु भएको वार्ता ४:१० सम्म चलेको थियो। होटलको तेस्रो तल्लाको उत्तर दक्षिण लम्बाई भएको हलमा भएको वार्तामा सरकारी वार्ता टोली पश्चिमतर्फ थियो भने माओवादी वार्ता टोली पूर्वतर्फ रहेको थियो। दुवै टोलीको बीचमा आ आफ्नोतर्फका संयोजकहरु रहेका थिए। वार्ता सुरु हुनुअगाडि दुवै वार्ता टोलीका सुरक्षा गार्ड होटलको लिफ्टमा अड्किएपछि केही बेर खैलाबैला मच्चिएको थियो। निस्सासिएर लुगा खोलेको अवस्थामा करिब २० मिनेटपछि उनीहरुलाई उद्दार गरिएको थियो। लिफ्ट अड्किएपछि भित्रको फ्यान बन्द भएको अनि श्वाश फेर्न गाह्रो भएको उनीहरुले बताए। ‘अबदेखि कहिलै लिफ्ट चड्ढिनँ’ सरकारी वार्ता टोलीको सुरक्षार्थ आएका एकजना डीएसपी भन्दै थिए।पहिलो चरणको वार्तामा जस्तै बिहीबार पनि माओवादी छापामारहरुले आफ्ना नेताहरुलाई सुरक्षा दिएका थिए। माओवादी नेताहरु बा १ ज ७८३ नम्बरको ट्याक्सीमा वार्तास्थल पुगेका थिए। नेता चढेको ट्याक्सीको अगाडि बा १ ज २३८२ नम्बरको ट्याक्सीमा माओवादी छापामारले साधारण पोशाकमा एस्कर्टिङ गरेका थिए। पछाडिबाट भने बा १ ज ८४३२ नम्बरको माइक्रोमा आएका छापामारहरुले सुरक्षा दिएका थिए।देव गुरुङ पहिले नै कृष्ण सिटौलासँग गइसकेका कारण पत्रकार सम्मेलनपछि कृष्णबहादुर महरा र दीनानाथ शर्मा मात्र ट्याक्सीमा निस्केका थिए। सरकारी वार्ता टोलीका सदस्यहरु प्रदीप ज्ञवाली र रमेश लेखक भने सरकारी गाडीमा झन्डा फहराउँदै वार्तास्थलबाट हिँडेका थिए।स्रोत :: परेवा डट कम

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/06/15/p272/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here