डबलरोलका कृष्णजीले ‘वार्ता–महाभारत’ कसरी टुङग्याउलान्?
सफल भएछ भने, १० वर्षलामो रक्तपिपासु र सकसपूर्ण युद्धको टुङ्गो लाग्ने भएकोले १२ जेठमा शुरु भएको सरकार–माओवादी वार्तालाई ‘नेपाली महाभारत’ भन्दा फरक नपर्ला। संयोगवश द्वापरयुगमा झैं १२ बुँदे सहमतिको निम्ति शान्तिदूतको गहन भूमिका निर्वाह गरेका कृष्णद्धय अर्थात कृष्ण सिटौला र कृष्णबहादुर महराले सरकार र माओवादी बिचको प्रारम्भिक वार्ताको नेतृत्व गरेका छन्। महरा माओवादी सुप्रिम कमाण्डर प्रचण्डका अति विश्वास पात्र हुन्, सिटौला सातदल र हालै सम्पन्न जनआन्दोलनका एक वरिष्ठ कमाण्डर गिरिजाप्रसाद कोइरालाको ‘क्लोज–क्याम्प’ का सदस्य। जिम्मेवारी भने महरा भन्दा सिटौलाकै बढी छ। उनको निम्ति वार्ता युद्धको चिसोले कठाङग्रिएको नावालकको कलिलो शरीरमा काँढैकाँढा रोपिएको ‘शान्ति कोट’ पहिराउनु सरह हुनेछ। एकातिर माओवादीका विषालु नङग्राले कोतरेर खाटा बसिनसकेका जनताको जीउभरीका घाउमा मलम लगाउनु छ, अर्को तिर सामुन्ने टेबुलमा बसेका विद्रोहीको विद्रोहको सुलह खोज्नु छ। आशलाग्दो पक्ष मान्नुपर्छ, सिटौला माओवादीको निम्ति विश्वास पात्र विपक्षी हुन्। कनिष्ठ हुँदाहुँदै सातदलका अरु सहकर्मीलाई उछिनेर उनले गृहमन्त्रीको जिम्मेवारी पाउनुमा त्यस सत्यले पनि निकै बल पुर्याएको छ। त्यसैले उनप्रतिको इर्ष्याले वार्ताको असफलता चिताउने पापीहरु पनि नहोलान् भन्न सकिन्न। तर, एमालेभित्र माओवादीप्रति लचिलो धारणा राख्ने प्रदीप ज्ञवाली र शाही काँग्रेस भनेर आलोचना गरिएपनि नेका प्रजातान्त्रिकका निष्कलंक, इमान्दार र गम्भिर स्वभावका युवा नेता रमेश लेखकलाई सहकर्मीको रुपमा पाएका छन्, सिटौलाले। वार्ता टेबुलको अर्को भागका अगुवा कृष्णबहादुर महरा माओवादी भित्रका हँसिलो अनुहारका फरासिला नेता हुन्। आम मस्तिष्कमा रहेको सशस्त्र र भूमिगत नेताको आवरण फिटिक्कै देखिदैन्, उनमा। उनीसँग बात मार्दा बर्षौदेखि खुला राजनीति गरिरहेको कुनै नेतासँग गफिएभन्दा भिन्न अनुभूति हुँदैन्। जुन कि बेलाबखतका अन्तर्वार्ता र भाषणमा अघिल्ला वार्ताटोलीका डा. बाबुराम भट्टराई र मातृका यादवमा स्पष्टै देखिन्थ्यो। कुनैबेला दूर्गम रोल्पामा विज्ञान पढाउने महरासामु अहिले भने राजनीतिक, सामाजिक, आर्थिक र कुटनितिक लगायतका विषयमा दखल देखाउने चुनौति आइलागेको छ। उनका सहकर्मी देव गुरूङ अघिल्लो वार्ताकालमा पोखरामा ‘अधिकार विहिन भएर बस्ने राजा मान्न सकिने’ विवादित भाषण गरेर लचिलो छवि प्रस्तुत गरेका नेता हुन्। केही वर्ष अघि माओवादी छिरेका अर्का सदस्य अध्ययनशिल दिनानाथ शर्मा पनि अप्ठेरा नेता मानिदैनन्। यी नेताहरुले शुरु गरेको वार्तालाई प्रारम्भिक भनिएपनि निर्णायक भने यही नै हुनेछ। शिखर वार्ता गर्न अध्यक्ष प्रचण्ड नै आउने बताउँदै आएको माओवादीले ‘वार्ता निकासोन्मुख भएमात्र प्रचण्ड आउने’ भन्न भने छुटाएका छैनन्। यसबाटै प्रष्ट हुन्छ, प्रचण्ड केवल वार्तालाई औपचारीक रुपमा समापन गर्न मात्र आउने हुन्। उनी आउनु वार्ताको सफलताको पूर्व संकेत हुनेछ।
द्वापरयुगको महाभारत त सत्यको शिरमा विजयको ताज पहिराउँदै सम्पन्न भएको थियो, त्यसको नेपाली संस्करण अर्थात ‘वार्ता–महाभारत’ मा कस्तो जीत होला? नेपाली जनताकै निधारमा बिजयको अविर पोतिनेमा धेरै विश्वस्त देखिन्छन्। माओवादीको प्रमुख माग संविधानसभाको निर्वाचन गर्न सातदलिय गठबन्धनले प्रतिनिधिसभाको बैठकमा संकल्प गरिसकेकोले पनि त्यो आशा जागेको हो। तर, हतियार र माओवादी छापामारको व्यवस्थापन लगायतका अन्य तमाम प्रक्रियाहरु पनि महत्वपूर्ण विषय नै हुन्। त्यसैले कृष्ण भन्ने वितिकै ‘जनदूत’ बनेर समाधान निकाल्लान भन्ने के छ र? आखिर कृष्ण सिटौलाले पनि केही वर्ष अघि नेपाली राजनीतिका किशुन जी अर्थात कृष्णप्रसाद भट्टराईको आँगनबाट कोइरालाको पोल्टामा हामफालेका हुन्।
शरद के सी


गएका महिनाहरु:
