.... ....UCC

14,November , 2005

श्री १० महाराजको जुनाफमा विन्ति पत्र

श्री १० महाराजको जुनाफमा म महाराजभक्त प्रजा श्री १ विष्णुभक्त यो सानो निवेदन चढाइरहेको छु । र्सबप्रथमत महाराजको जय जय जय, कहिल्यै पराजय नहोस् । महाराज आर्श्चर्यमा परिवक्स्यो होला, यो भक्तले किन श्री १० भनेर सम्बोधन गर्यो । हुन त अहिले यी अज्ञानी उत्ताउला जनता भनाउदाहरु महाराजलाई श्री ५ भन्न पनि हिच्किचाइरहेका छन् । यस्तो बेलामा हामी जस्ता भक्तहरुले महाराजको सम्मान बढाउन कुनै पनि कसर बाँकी राख्नु हुन्न भन्ने लागेर मैले ख्वामीतको सम्मानमा अर्को श्री ५ थपेर श्री १० ले सम्बोधन गरेको हुँ । यसको लागि हामीसँग र्सवमान्य आधार छ । ख्वामीत, त्यो के भने, श्री ५ त महाराज जन्मदै होइबक्सन्थ्यो नी, अब त स्वर्गीय माहाराजको श्रीपेज र र्सवस्वसहित श्री ५ महाराजाधिराज पनि त ख्वामीतको गाथमा सारिवक्स्या छ । अब महाराज नै हुकुम होइबक्स्योस् त, आफ्नो जन्मसिद्व श्री ५ र गाथमा सारिबक्सेको श्री ५ जोड्दा श्री १० भएन त - बरु अब महाराज स्वयंले घोषणा गरिवक्सनु पर्छ श्री १० को । नाथे पाङदुरे नेता र जनता भनाउदाहरुले नमानेर हुन्छ - हामी यत्रो प्रजा जो छौं ख्वामीतको र्समर्थनमा लामबद्व । यी जीजुबाका पालादेखिका रैती आजका जनता भनाउदाहरुले त १८ लाई नै कहाँ मानेका थिए र, १९ लाई त झन पटक्कै मानेका थिएनन् । तर महाराजको प्रतापले आजसम्म, साम, दाम, दण्ड, भेद जे जे लगाएर हुन्छ मनाइबक्स्या छ । त्यसरी नै मान्न बाध्य पार्नु पर्छ, श्री १० पनि । आज यो विष्णुभक्तले महाराजको जुनाफमा चढाउन खोजेको मूख्य निवेदन चाहीं चुनाव हो महाराज । ख्वामीतले नगरपालिकाको चुनावको तिथि घोषणा गरिवक्सेको लगतै बडा दशैंको शुभसाइत जुर्राई यी आन्दोलनकारी भनाउँदाहरु दशैं तिहारमा अलमलिएर सडकबाट पन्छिएको मौका पारी, हाम्रो युवराजको घोषणा गरिबक्सेजस्तै चुनावको पनि घोषणा गरिबक्स्यो । यसले हामी महाराजका प्रजाहरुलाई बडो हर्षविभोर बनाएको छ । तर ख्वामीत, सँगसँगै यसले हामीलाई पार्न अप्ठेरोमा पनि पारेको छ । ख्वामीत, नगरपालिकाको चुनावसम्म त केही छैन, कसैले माने पनि नमाने पनि, लाठी मुंग्री लगाएर भए पनि सम्पन्न गराउँला । बाँकी भित्र छ ।
किन कि आजको मितिसम्म त नगरहरुमा हाम्रो नै राज चलिरहेको छ । तर नेपाल त, गाउँ नै गाउँबीच नगर हराएको देश हो । अब, आम चुनावको लागि त गाउँ नछिरी धर छैन । तर महाराजलाई पनि भरमार अवगत छ, त्यहाँ त हाम्रो हैन अर्कै महाराजको एकछत्र राज छ । भोलि त्यहाँ छिर्नु, अस्ति महाराजको पैदल यात्राहरुमा हातेमालो गर्दै, नाच्दै गाउंदै, भएभरको बूढा खाडा र आइमाई केटाकेटी भेला गराएर अवीर जात्रा गराएजस्तो सजिलो र स्वादिलो छैन ख्वामीत । अब त्यहाँ मजस्तो महाराजको भक्त, विष्णुभक्तहरुले एक्लै जानु भनेको सरासर कालको मुखमा पस्नु बराबर हो । घरबाट हिंड्नु अगाडि आफ्नै हातले आफ्नो कुशको लाश बनाइराखेर त्यहाँ पुग्ने दिनको हिसाब गरी यो दिन तिमीहरुले मेरो यो कुशको लाश जलाएर दुःख बार्नु भनेर घरको लेनदेन सबै बताइराखेर हिंड्नुपर्ने हुन्छ । एउटा सजिलो बाटा, यो पार्टिको पुत्ले पांग्रेहरुलाई ढाल बनाई दुःख सुख जान सकिने सम्भावना थियो । तिनीहरु पनि रुष्ट भै अब चुनाव बहिष्कारको तरवार बोकेर उल्टो गौंडा गौंडामा हामीलाई नै ढुकेर बसेका छन् । जो जाँदैछन् हाम्रा नव पार्टि, उनीहरुको अनुहार देख्नु त के नामसम्म सुनेका छैनन् अधिकांश गाउँलेहरुले । भने, महाराजले यो बखत आमचुनावको घोषणा गरिबक्सेर बडो बिलखबन्दमा पारिबक्स्यो, महाराज स्वयंलाई अनि हामी भक्तहरुलाई पनि ।
चुनाव गराउँन नसक्दाको निहुमा असक्षम ठहरी देउवा गए । सक्षम र स्वच्छ छविका चन्द आए अनि गए । त्योभन्दा स्वच्छ र सक्षम थापा काजी आए र गए । देउवा फेरि ठुलो कसरतबाट सक्षम भै पुनः पखालिएर स्वच्छ छवि बनाई आए र कालो बोको पच्न नपाई फेरि असक्षम र अस्वच्छ ठहरिएर विदा पाए । यी सब जे जे भए, महाराजको निगाहबाट भए । अन्त्यमा महाराजले आफू बाहेक स्वच्छ र सक्षम कोही बाँकी नरहेको ठहर गरिबक्सन्दै कथित मकरतन्त्र भनिने माघ १९ ल्याई महाराज नै सरकार प्रमुख रहिबक्स्यो । अब देशमा श्री ५ पनि र श्री ५ को सरकार पनि स्वयं महाराज नै होइबक्सन्छ । यो बखत, दैवको कानमा नपरोस तर कथं कदाचित चुनाव सम्पन्न हुन नसके र भैहाले पनि नेपालकै इतिहासमा प्रथम पटक अत्यन्त न्यून बाह्र, पन्ध्र प्रतिशत मत मात्रै खस्यो भने ख्वामीतको गाथमा कत्रो घात होला ! राम राम राम ख्वामीत, ठुलो अनिष्ट हुन्छ । यत्रो जोखिम मोलेर यो र्सवत्र विरोध भैरहेको आमचुनाव नामको चुनाव गराउनु भन्दा बरु महाराजले अझ अग्रगामी पाइला चालिबक्सी अब देशमा एउटा अर्कै चुनावको घोषणा गरिबक्सियोस् ख्वामीत । जसले नेपालबाट यो गणतन्त्र भनाउदो साहै्र गन्हाउने नाम सदाको लागि टुकुचामा लगेर फालिदिवस् । र, हाम्रो राजतन्त्रलाई सदा फलावस् फुलावस् । त्यो चुनावको नाम हो ख्वामीत, राजतन्त्र र गणतन्त्र । यो नामको चुनावमा जंगलको महाराजदेखि देश विदेशका काला, गोरा सबै सहमत हुनेछन् । महाराजले धुक्चुक नमानी बक्से हुन्छ । हामी महाराजका भक्तहरु ज्यान दिएर राजतन्त्रको लागि लड्ने छौं । राजतन्त्रको जीत निश्चित छ । ख्वामीतको सेवामा को छैन - बाबु महाराजकै पालामा अर्जापिएका दाजु महाराजको पालामा साँद लगाइएकाहरु अनि अहिले शाह वंशकै इतिहासमै नयाँ कीर्तिमान कायम गरिबक्सेको महाराजकै पालामा तिखारिएकाहरु ख्वामीतका लागि सदैव समर्पित छन् । महाराजको पूवपश्चिम भ्रमणमा जय जयकार गर्ने तेत्रा प्रजाहरु छन् । भलै ती बृद्धा, बाला नै सही अहिले तरुणहरु त देशमा कहाँ छन् र ख्वामीत । सब पर्देश । जति छन् ती कि जंगलमा छन् कि महाराजकै व्यारेकमा । भने बाँकी रहेका बूढापाका आइमाई केटाकेटी नै त हुन् । यी सब महाराजकै जीजुबाका पालादेखिका रैती हुन् । यसमा शंका नगरी बक्सियोस् । मान्छे भुट्न सक्नेदेखि र्सवस्व लुट्न सक्ने सबै ख्वामीतसँग छन् भने ती गणतन्त्र भनेर बास्नेहरुसँग को छ - र, के छ र ख्वामीत - खुपै छ भने को नि के के नाम गरेको वाद भननाउदो किताबको खोष्टो छ । त्यहीं खोष्टो च्यापी घरवार बिर्सिएर हिडेका जोगीजस्ता दाह्री जुंगा पालेका खोपडीभित्र समानताको सपना बोकी हिड्ने दुइ चार जना नेता छन् । खाली पेटले खिइएका, झुत्रो झाम्रोले टालिएका मरनच्यासे, ख्याउटेहरु भोलि कतै पेटभर खान पाइन्छ कि, नफाटेको एकसरो कतै लाउन पाइन्छ कि भनेर कुर्लिने एक्काइशौं शताब्दीका जनता हँु भनाउदाहरु त छन् नि । ख्वामीत कुनै पनि कुरामा यिनीहरुभन्दा कमजोर होइब्क्सन्न । त्यसैले यहीं मौकामा यो पृथ्वीनारायण शाहको नेपालमा सदाको लागि राजतन्त्र स्थापित गर्न अपरिहार्य भएकोले आमचुनावको घोषणालाई फिर्ता लिई राजतन्त्र र गणतन्त्रको चुनावको घोषणा गरिबक्सियोस् । आगे महाराजको जो निगाह ।
भोगेन ‘एक्ले’ हङकङ नोभेम्बर १२, २००५
नेपाली पोष्ट डट कम

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/11/14/106/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here