.... ....UCC

2,November , 2005

पराजित राजाको अन्ध व्यवहार

माघ १९ को कदमले लोप्पा खाएपछि हतास बनेका राजा र उनको सरकारले आत्मघाती तरिकाले प्रतिक्रिया व्यक्त गर्न थालेका छन् । चारैतिर विरोध र थू-थू भएपछि राजतन्त्रको आयू केही दिन वा केही वर्षबढाउने धुनमा राजाले अत्तालिँदै झन् प्रत्युत्पादक काम गरिरहेका छन् । सत्तामा जमाएको कब्जालाई टिक्ने र शासन गर्ने एकमात्र स्रोत बुझेका राजालाई खुट्टामुनीको आफ्नो धरातल भत्किरहेको भने थाहा छैन । दुइ चार सय मण्डलेहरुको आडमा २३७ वर्षपुरानो राजतन्त्रलाई कायम राख्न सकिन्छ भन्ने भ्रम बोकेर राजा ज्ञानेन्द्रले राजतन्त्रलाई नै धरापमा हालिदिएका छन् ।
सञ्चार अध्यादेश र कान्तिपुर एफएममाथिको हमलाले राजाको पराजित मानसिकतालाई मात्रै प्रतिविम्बित गरेको छ । संविधान र युगको प्रतिकूल हुने अध्यादेश जारी गरेर उनले दरबार, भारदार र स्वयं राजा अझै पनि द्रव्य शाहकालिन सोच र संस्कारबाट मुक्त हुन सकेको छैनन् भनेर प्रमाणित नै गरिदिएका छन् भने कान्तिपुर एफएममाथि गुण्डागर्दीको शैलीमा गरिएको आक्रमणले राजा अब दिनको उज्यालोबाट डराउन थालेका छन् र मध्यरातमा मात्रै जनता र प्रजातन्त्रका सुरक्षा आधार भत्काउने ‘चोर रणनीति’ अङ्गाल्न बाध्य भइसकेका छन् भन्ने पुष्टि गरिदिएको छ ।प्रेसमाथि घातक आक्रमण गर्न ल्याइएको अध्यादेशविरुद्ध संसार खडा भइदिएको छ । नेपाली पत्रकारहरुले त्यो अध्यादेशलाई धोती लगाउँदै राजा विरुद्ध झन् कसिलो मोर्चा खोलेका छन् । सेना र प्रहरीको बन्दुक देखाएर नागरिक समाज र स्वतन्त्र प्रेसलाई ध्वस्त पार्न सकिन्छ भन्ने ‘पागलपन’को हद नाघ्दा पनि प्रेस न डराएको छ, न लुटपाट र गुण्डागर्दीको सरकारी शैलीले नागरिक समाजलाई हतोत्साहित गर्न सकेको छ । बरु, राजा ज्ञानेन्द्र र उनको मण्डलीप्रति देशभर घृणा र विश्वभर तिरस्कार प्रवल भइरहेको छ ।कान्तिपुर एफएममाथिको आक्रमणबाट नेपाली जनताले एउटा स्पष्ट सङ्केत पाएको छ । त्यो हो- राजा ज्ञानेन्द्र नेपालीलाई सुसूचित भएको देख्न चाहन्नन् । उनी नेपाली जनताका भावी पुस्ताहरुलाई २०४६ सालअघिझैं अँध्यारोमा हर्ुकाउने वातावरण सृजना गर्ने कसरत गर्दैछन् । सञ्चारमाथिको आक्रमण र गैरसरकारी आन्दोलनलाई नियन्त्रण गर्ने राजाका नविनतम् प्रयासबाट प्रगति र स्वतन्त्रता चाहने नेपाली क्षुब्ध हुन पुगेका छन् । दास मनोवृत्ति भएका दुइ-चार दर्जन मान्छेहरुको ‘जयजयकार’ सुनेर दङ्ग परेका राजाले नेपाली जनता बलिया हुँदै गएका र सामन्तवादको नाइके राजतन्त्र कमजोर हुँदै गएको आभास समेत पाउन सकेका छैनन् ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर नेपाली जनतालाई जुन गुन लगाएका छन् निश्चितरुपमा त्यो तिर्न सकिदैन । तर, यसको अर्थ पृथ्वीनारायण शाहका सन्तानहरुले जे गरे पनि हुन्छ भन्ने कदापी होइन । राजा ज्ञानेन्द्रले नेपाली जनताको भलो हुने कुन काम गरेका छन् र उनले जारी गर्ने कालो अध्यादेशलाई पनि कानून मान्ने - यही प्रश्नले आज आम नेपालीलाई व्रि्रोहका लागि उक्साएको हो । मृत्युदण्ड दिने अध्यादेश ल्याए पनि नेपाली जनता डराएर मौन बस्दैनन् भन्ने सन्देश ‘सञ्चार अध्यादेशको’ अवज्ञाबाट स्पष्ट भएको छ ।सिङ्गो देशले लोकतन्त्रको नारा गुञ्जायमान गरिरहेको छ । विश्व समुदायले राजा ज्ञानेन्द्रलाई दक्षिण एसियाकै प्रगतिमा मुख्य बाधक व्यक्तिका रुपमा चित्रित गर्न थालेको छ । राष्टूको ढुकुटी रित्तिदै छ भन्ने कुरा टाट पल्टिन थालेका बैंकहरुले फलाकीरहेका छन् । मुलुक अराजकता र असफलताको भयङ्कर खाल्डोतर्फबढ्दैछ । तर, राजा ज्ञानेन्द्र मतियारहरुले उर्दी जारी गरेर भेला गरिएका कलिला विद्यार्थी र नारायणहिटी काण्डपछि सत्तामा पुगेका चर्चित राजालाई हेन आएकाहरुको भीड वास्तविक जनर्समर्थन हो भनेर मख्ख छन् । मतियारहरुले राजालाई त्यो भीड त देखाउँछन् तर त्यहाँ जम्मा भएकाहरु किन आएका हुन - भन्ने कुरा बुझाउन खोज्दैनन् । आफू लोकप्रिय भएको मनोगत निष्कर्षबोकेर राजा यो देशलाई थोत्र्याउँदै जथाभावी गरिरहेका छन् । उनलाई चर्को विरोधका बीच धेरै दिन देश चलाउन सकिदैन भन्ने सत्यसँग लिनु दिनु केही छैन । त्यसैले, तुल्सी गिरीदेखि महेन्द्रमान व्यथितसम्मका कौडी मोल नभएका सिद्धान्तहिनहरुको घेरामा बसेर आत्मरती गरिरहेका छन् राजा । जनशक्ति पार्टर्ीी राप्रपाको मनस्थिति, क्रियाकलाप र बोली हेरेर पनि राजाले आफ्नो अवस्था अनुमान गर्नुपर्ने हो ।राजाका त्वरित तर प्रतिगामी कदमले जनताको निर्ण्ाायक आन्दोलनलाई ऊर्जा दिइरहेको छ र राजतन्त्रको आयु छोट्याउँदैछ । समाजको एउटा पनि अङ्ग अध्यादेशको तोपबाट अछुतो छैन । हरेक क्षेत्रलाई एक साथ आक्रमण गरेर राजाले आफ्ना विरोधीहरुलाई सक्रिय विरोधमा एकै पटक उतार्ने काम आफैले गरिरहेका छन् । यसबाट के बुझिन्छ भने राजा ज्ञानेन्द्रमा ‘राजनीति’ मात्र होइन ‘कूटनीति’, ‘रणनीति’ र ‘कार्य नीति’ सम्बन्धी ज्ञानको ठूलो अभाव छ । बुद्धिमानहरु मुख्य शत्रुलाई समाप्त गर्न सहायक शत्रुहरुसँग हात मिलाउँछन् तर मुखहरु एकै पटक सबै शत्रुहरुसँगको मोर्चा खोल्छन् र स्वयं नष्ट भइजान्छन् ।
माओवादी आन्दोलनको रापबाट राजाले जनताका सबै हाँगाबिँगालाई राजतन्त्र विरोधी देख्नु नै मुख्य समस्या हो । एक दिन जनताले राजतन्त्र उखेल्ने छन् भन्ने सत्य थाह पाएर नै होला उनले ‘जनता’ सम्बद्ध भएको एउटा क्षेत्रलाई पनि बाँकी नराख्ने संकल्प गरेका । अध्यादेशहरुको लर्को लगाएर सबैलाई स्वाहा पार्ने राजा ज्ञानेन्द्रको नयाँ तर अपरिपक्व रणनीतिले पनि काम गर्न सक्ने सम्भावना देखिदैन । प्रजातन्त्रको सबैभन्दा कमजोर स्तम्भमाथि प्रहार सुरु गरेर क्रमशः बलियाहरुमाथि केन्द्रित हुनुपर्नेमा राजाले प्रेस जस्तो बलियो स्तम्भमाथि आक्रमण गरेर आफ्नो रणनीति क्रियान्वित गर्न शुरु गरे । फेरी एक पटक राजाको नयाँ रणनीति सुरुमै असफल भएको छ । सयौं सम्पादकहरुलाई थुन्ने र देशभरीका पत्रपत्रिका र एफएम लुट्न सक्ने साहस र क्षमता राजासँग छैन बरु राजाका विरुद्ध कलम चलाउने उच्च मनोबल र साहस पत्रकारहरुसँग छ ।
खेम भण्डारी
प्रस्तुत लेख नेपाली पोष्ट डटकम मा अक्टोबर ३०, २००५मा प्रकाशन भयको थियो जस्का लेखक हुनुहुन्छ खेम भण्डारी । यसलाइ देवदासले जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छ किनकी यो वेभ साइड यहाँ हाम्रो शाही सरकारको कृपाले बन्द गरेको हुँदा यो साइट खोल्न नसक्ने पाठक का लागी देवदासले साभार गरेर रत्नपार्कका राखेको हो। यस लेखप्रती कसैको आपत्ति भए कमेन्टमा लेख्न सक्नुहुन्छ जुन कमेन्ट लेखक सम्म देवदासले पुराउने छ । रत्नपार्क बाट नेपाली देवदास

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/11/02/parajit-raja/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here