महानवमी र दशमी अर्थात टीका एकसाथ लगाइँदै
बडादसैँको नवौँ तथा दसौँ दिन आज अधिराज्यभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना तथा आफ्ना मान्यजनहरूबाट टीका र जमरा लगाई अधिराज्यभर महानवमी तथा विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ। यस वर्षमहानवमी र विजयादशमी एकै दिन परेकाले विजयादशमीका दिन लगाइने टीका आज दिउँसो एक बजेर २५ मिनेटको साइत उत्तम रहेको नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष नायब बडागुरुज्यू डा. माधप्रसाद भट्टराईले बताउनुभएको छ। हिजो बेलुका कालरात्रिको पूजा गर्ने र आज बिहान महानवमीको पूजा गरेर ११२५ बजेको साइतमा विजयादशमीको पूजा विर्सजन गर्नुपर्ने पनि उहाँले जानकारी दिनुभयो। घटस्थापनाका दिन आ-आफ्ना घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठहरूमा चढाइने चलन रहेको छ। यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत अधिराज्यका विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजा-अर्चना र सप्तशती पाठ गरिन्छ। शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने गर्छन्।
महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ। कतिपय ठाउँमा आजको दिन हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ। यस पर्वमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ। महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै शाही नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गरिन्छ भने त्यसदिन हनुमानढोकास्थित ऐतिहासिक तलेजुभवानीको मन्दिर र्सवसाधारणको दर्शनका लागि खोलिन्छ। यसैगरी पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजै विजयादशमीका दिन देवीपूजा विर्सजन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ। त्रेतायुगमा भगवान् श्रीरामले शक्तिस्वरूपा श्री दुर्गाभवानीको पूजा उपासना गरी आजैका दिन रावणमाथि विजय प्राप्त गर्नुभएकाले त्यसै बेलादेखि आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा यो पर्व मनाइँदै आएको धार्मिक विश्वास रहेको छ। विभिन्न धर्मावलम्बीहरूबीच सहिष्णुता रहेको नेपालमा हिन्दूसहित अन्य धर्मावलम्बीहरूले पनि महत्वपूर्ण चाडका रूपमा विजयादशमी पर्व मनाउने गर्छन्। आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनहरूका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐर्श्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने चलन छ। विजयादशमीकै उपलक्ष्यमा आफन्तहरूको सुख, शान्ति र समृद्धिका लागि एक आपसमा शुभकामना आदान-प्रदान गर्ने गरिन्छ। विजयादशमीको टीका ग्रहण गर्न स्वदेश तथा विदेशमा रहेका आफ्ना परिवारका सदस्य घर फर्केर खुसियाली मनाउँछन्। विजयादशमीका दिन आफ्नो मूल घरमा टीका लगाइसकेपछि इष्टमित्र कहाँ टीका थाप्न जानेहरूको घुइँचो देखिन्छ। यो क्रम विजयादशमीदेखि कोजाग्रत पूणिर्मासम्म चालु रहन्छ। गाउँघरमा दसैँमा पिङ खेलेर मनोरञ्जन लिइन्छ। विजयादशमीका दिन टीका लगाइसकेपछि एकैछिन भए पनि जमिन छोड्नुपर्छ भन्ने मान्यताअनुरूप पाका उमेरका नरनारीहरू पनि आज पिङ खेल्न पुग्दछन्।स्वतन्त्र नेपाल बाट


गएका महिनाहरु:
