जी शाहको अन्तर-कुन्तरवार्तालाई केलाउँदा
उही कुमार लामा, १७ माघ २०६४
हामी चुप लागेर बसेको पनि शान्ति सम्झौता भएर शान्ति प्रक्रिया सफल पार्न नै हो।
प्रथमः त जी शाहजी, तपाईंको नेपाली नै शुद्ध भएन। म भन्नुस्, हामी हैन। दोस्रो, जी शाह चूप नलागी फत्फताउन थाल्ने हो भने जनआन्दोलन-३ नै शुरू हुन बेर छैन।
मुलुक कुन अवस्थातिर गइरहेको छ, कस्तो दिशातिर डोरिएको छ, किन अस्तव्यस्त भइरहेको छ भन्ने कुरातिर नेपाली जनताले नै बोल्नु र भन्नुपर्यो।
पहिला आफैँले जनता मार्ने, अनि आफू सिद्धिने बेलामा चाहिँ जनतासँग गुहार माग्ने? यो त भएन नि शाहजी!
कहिल्यै पनि राजसंस्थाले शक्ति खोजेको छैन।
त्यो त छैन। दाल-भात ज्यूनार गर्ने बेलाँ भटट पारेर सत्ता हत्याएकोमात्रै हो। अनि मन्त्रिपरिषदको अध्यक्ष, अर्थ, संचार आदि इत्यादि मन्त्री बनेकोलाई शक्ति खोजेको भन्न मिल्दैन।
राजसंस्थाको इतिहासमा यस्ता क्षणहरु कति आए-कति गए, नेपाली जनताको चाहनाअनुसार नेपाली राजसंस्था चलेको छ र त्यतैतिर लागेको छ।
नगरकोटमा ११ जना, बेलबारीमा ७ जना, भैरव गण र जंगलतिर त झन् कतिको ज्यान गयो कतिको? ती जनताको ज्यान जनताकै चाहनाअनुसार गएको हो कि? दुई वटा हवाइजहाज लिएर अफ्रिका सफारीमा निस्किएको पनि जनताकै चाहनाअनुसार हो कि? दरबारलाई एघार करोडबाट ६५ करोड रुपैयाँ भत्ता पनि जनताकै चाहनाअनुसार बढाएको हो कि?
मैले सुनेको र ज्ञात नभएको होइन, जनता पनि बोल्न सकेका छैनन्, विभिन्न कारणले।
जनतालाई लाटा ठान्नु भो कि कसो? उनीहरूले सिनु बोक्दा आफ्नै जीउ गन्हाउँछ भन्ने बुझेका छन्।
प्रजातान्त्रिक तौरतरिकाका नाममा बेढंगबाट देशको भौतिक संरचना नास गर्ने कुरा प्रजातान्त्रिक भएन जस्तो लाग्दछ।
के यो शालिकहरू ढालेको प्रसंग हो? जनताले मूर्ति ढाले पनि नेपालभित्रै राखेका छन्, समुद्रपारि लगेर बेचेका छैनन्।
शान्ति होस्, प्रजातन्त्र रहोस्, राष्ट्रियता बलियो बनोस्।
ए हो र भन्या? यस्तो कुरा जी शाहको मुखबाट निस्कँदा कति मानिस हाँसेका होलान् है।
कुन किसिमको राजनीतिक व्यवस्था नेपाली जनताले चाहन्छन्, त्यो नेपाली जनताको चाहनामा हुनुपर्दछ त्यो नेपाल र नेपालीलाई सुहाउँदो होस्।
कस्तो? नेपाली जनता हैन, माटो सुहाउँदो पञ्चायती व्यवस्था जस्तो?
नेपालीको शिर ठाडो पारेर हिँड्ने व्यवस्था होस्।
ठाडै त पारेर हिँडेका छन् नि। कहाँ मुण्टो बटारेर हिँड्या छन् र?
साइलेन्स अल्सो एक्सन।
नारायणहिटीमा जेठ १९ को रात एक्सन चलिरहेको बेला जी शाहजी एयरपोर्टमा साइलेण्ट बस्नुभा थियो रे भनेको सुन्या हो हामीले पनि।
चुप लागेका मात्र छैनौँ। त्यसको धेरै अर्थ छ।
त्यसो भनेर हाम्लाई तर्साउन खोज्या हो जी शाहजीले? अब त तपाईंसँग माइली भाउजू पनि तर्सिन्नन्।
सहरको कुरा गरेर मात्र हुँदैन। डाँडाकाँडामा दुःख पाएर रहेका नेपालीलाई उत्तिकै महत्व दिइनु पर्दछ।
सेनाले चोरी सिकारी गरेको हरिणको सुकुटी टोक्दै ह्विस्कीको नसामा नेपाली जनताको पैसाले इण्टरनेटमा पोकर खेलेर बस्नेले यस्तो कुरा गर्दा जनताले पत्याउलान र भन्या?
राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहबाट नेपालको एकीकरण गरिबक्स्यो, मौसुफबाट एकीकरण नभएको भए आज हामी कहाँ हुन्थ्यौँ?
हामी चैँ यहीँ हुन्थ्यौं, तपाईं चैँ राजस्थान हो कि कतारतिर हुनुहुन्थ्यौ होला शायद। यो कुरा अलिक हाइपोथेटिकल कुरा भयो।
राष्ट्रनिर्मातालाई बेइज्जत गर्ने कुरा आफूलाई र राष्ट्रलाई बेइज्जत गरेको जस्तो लाग्छ।
हैन शाहजी, पृथ्वीनारायणको मात्रै किन यति रटान् लगाएको तपाईंले? आफ्नो बाउ र बाजेको त कुरै गर्नुहुन्न बा।
राजसंस्थालाई अगाडि बढाउने प्रयासमा नेपाली जनता नै अग्रसर हुनुपर्दछ।
कतातिर अगाडि बढाउने? नक्खुतिर कि भद्रगोलतिर?
हामीले दुई वर्षअगाडि गर्न खोजेको प्रयास पनि २०४७ सालकै नेपाल अधिराज्यको संविधानअनुसार नै जनताको नासो जनतालाई फर्काउने प्रयास प्रजातान्त्रिक तौरतरिकाबाट गरेकै हो।
हो त, २० लाख जनताले नारायणहिटी घेर्ने भएपछि त्यसै त गर्नुपर्या थियो।
माओवादीले प्रयोग गरेका उपायहरुबारे खुसी थिएनौँ। त्यसैले हामीले कुनै न कुनै किसिमबाट जनताको माग बमोजिम शान्ति प्रयासमा लागेका हौँ। सफल हुन सकेनौँ। हामीले त्यो मान्नै पर्छ। त्यसको नतिजा अहिले राष्ट्र र जनताले भोगिरहेको जस्तो लाग्छ। हामीले कोसिस गरेको प्रयास ठीकै थियो, कुनै न कुनै रुपले प्रमाणित हुँदै गएको छ कि जस्तो लागेको छ।
यो फेरि हामी-हामी दोहोरियो। नेपाली व्याकरण सिकेर म भन्न सिक्नुस्।
नेपाली जनताले जस्तो चाहना गर्छन्, राजसंस्थालाई त्यतैतिर ढाल्नुपर्दछ र त्यसअनुसार अगाडि बढाउनु पर्दछ।
बल्ल कुरा ठीक गर्नुभो। राजसंस्थाको वास नक्खुको कालकोठरीमा होस् भन्ने जनताको चाहना छ।

________ 
नेपाली भाषाको पहिलो ब्लग


शाही निरंकुशताविरुद्ध संचालित जनआन्दोलन भाग-२ की बयोवृद्ध नेतृ छायाँदेवी पराजुलीको ८८ वर्षको उमेरमा आज निधन भएको छ। आज बिहान करिब ५.३० बजे शौचालय गएर र्फकने क्रममा लडेर बेहोस भएको केही समयपछि नै उहाँको निधन भएको बताइएको छ। करिब १ महिनाअघि मोटरसाइकलको ठक्करबाट घाइते हुनु भएकी पराजुलीको वीर अस्पतालमा उपचार भइरहेको थियो । २०५९ साल असोज १८ देखि सक्रिय रुपमा शाही निरंकुशताविरोधी आन्दोलनमा सहभागी बयोवृद्ध नेतृ पराजुलीले आन्दोलन सफल नभई गाउँ नर्फकने कसम खानु भएको थियो । राजाले २०६० असोज १८ गते लादेको निरंकुशताको अन्त्य नगरेसम्म घर नजाने भन्दै सुनसरी जिल्लाबाट झण्डै चार वर्षअघि आन्दोलनमा सहभागी हुन राजधानी आउनुभएको थियो । आन्दोलन सफल भएपछि सरकारले बेवास्ता गरेको आवाज प्रतिनिधिसभामा व्यापक मात्रामा उठेछि सरकारले साउन २९ गते १ लाख सहयोग गर्ने निर्णय गरेको थियो । तर, उहाँले देशमा शान्ति स्थापनाभन्दा अर्को आफ्नो कुनै इच्छा नरहेको बताउनुभएको थियो ।
भरतिय अभिनेता अमीर खानले कोकाकोलाको लागी खेलेको यौटा बिज्ञापन ठण्डा मतलव कोकाकोला कुनै बेला चर्चित भएको थियो तर त्यही भारतका बासिन्दा हरुले उनले बोलेको बुझिरहेका थिएनन् । भारतको एक राज्य केरेलका धेरै जसो जनताहरुले हिन्दी भाषा बुझदैनन् । उनिहरुको आफ्नै भाषा छ , संस्कृती छ , परम्परा छ । उनिहरु फिल्म पनि आफ्नै भाषामा बन्दछन र कलाकारहरु पनि बलीउडका भन्दा भिन्न अनुहारका छन । कोहि कलाकार भने केरेला र मुम्बैमा दुवैतिरका फिल्ममा अभीनय गर्छन । केहि दिन अगडी केरेल सरकारले कोकाकोला र पेप्सीमाथी उक्त राज्यमा प्रतिबन्ध लगाएको छ र दुवै कोला कम्पनिहरुलाइ केरेल राज्यमा उक्त शीतल पेए पदार्थ उत्पादन र बितरण नगर्न सुचना जारी गरेको छ । सोडा आधारीत यो पेए पदार्थमा किटनासक को मात्रा अत्यधीक पाइएकोले यो निर्णय गरिएको हो । अब केरलमा कोला बजारमा नआउने र त्यहाँ कोलाको ब्यपार ठण्डा हुने भइपछी पक्कैपनि त्यहाँका जनताले अमीरखानले बिज्ञापनमा बोलेको कुरा अबश्य बुझ्नेछन अर्थात ठण्डा मतलब कोकाकोला

गएका महिनाहरु: